मेष
नामका अक्षरहरू: चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वर्षको सुरुवात उत्साहजनक रहे पनि मध्यान्तरसम्म केही उतारचढाव र चुनौतीहरूको सामना गर्नुपर्नेछ। वर्षको मध्यपछि भने कर्मयोगले उचाइ लिनेछ र नयाँ उपलब्धिहरू हासिल हुनेछन्। तर, वर्षको अन्त्यतिर आफूले कमाएको प्रतिष्ठा र सफलता जोगाउन निकै सजग र क्रियाशील रहनुपर्ने देखिन्छ।
२०८३ सालमा बृहस्पतिको गोचर अनुसार मेष राशिका व्यक्तिहरूको जीवनमा मुख्य तीनवटा चरण (घुम्ती) देखापर्नेछन्। वर्षको प्रारम्भमा नियमित कार्यहरू बन्नेछन् र पेसा–व्यवसायबाट आंशिक लाभ मिल्नेछ। पहिलो घुम्ती जेठ १८ गतेदेखि पाँच महिनासम्म रहनेछ, जसमा पारिवारिक असमझदारी बढ्न सक्ने र साझेदारीका काममा विखण्डन आउने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्ने तथा सत्यको पक्षमा उभिँदा विरोध र अन्तर्घातको सामना गर्नुपर्ने हुन सक्छ।
दोस्रो घुम्ती कार्तिक १२ गतेदेखि तीन महिनासम्म रहनेछ, जुन निकै फलदायी साबित हुनेछ। यस अवधिमा पुराना समस्याहरू सुल्झिनुका साथै नयाँ अवसरका ढोका खुल्नेछन्। अध्ययनमा सफलता, नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरणको बलियो योग छ। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ भने आम्दानीका नयाँ स्रोतहरू फेला पर्नाले नाम, दाम र इनाम प्राप्त हुनेछ। तर, माघ १२ पछिको तेस्रो घुम्तीमा भने पुराना समस्याहरू पुनः बल्झिन सक्छन्। आफन्तबीच वैरभाव बढ्न सक्ने भएकाले अघिल्लो समयमा हासिल गरेका उपलब्धि जोगाउन विशेष चनाखो रहनुपर्छ।
ग्रहगोचरको समग्र प्रभाव हेर्दा, वर्षभरि खर्चभावमा रहने शनिका कारण अनावश्यक खर्च बढ्ने, लगानी अड्किने र कर्जाको भार थपिन सक्ने देखिन्छ। शनिको आद्य साढेसातीको प्रभावले जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई काममा ढिलासुस्ती, स्वास्थ्य बाधा, झूटा आरोप र व्यापारमा मन्दी आउन सक्छ। त्यस्तै, वर्षको अधिकांश समय मंगल प्रतिकूल रहने हुँदा चोटपटक, मौसमी बिरामी र पित्तजन्य समस्याप्रति सचेत रहनुपर्छ। यद्यपि, मंसिरको पूर्वार्धसम्म राहुको अनुकूल प्रभावले आकस्मिक लाभ दिलाउनेछ र पुरानो वस्तुको कारोबारबाट फाइदा हुनेछ। मंसिरपछि भने कार्यक्षेत्रमा केही चुनौती र आर्थिक चाप महसुस हुन सक्छ। केतुको प्रभावले सुरुमा पशुपालनमा केही क्षति र वर्षको उत्तरार्धमा स्वास्थ्य तथा अध्ययनमा कमजोरीको आभास गराउन सक्छ।
पेसा र व्यवसायको दृष्टिले तत्काल ठूलो आर्थिक लाभ नदेखिए पनि दीर्घकालीन फाइदा हुने नयाँ कामको थालनी हुनेछ। व्यापार र सेयर बजारमा भविष्यका लागि लगानी गर्ने उपयुक्त समय छ। उद्योगधन्दामा वर्षको मध्यभाग विशेष फलदायी रहनेछ भने कृषि, पशुपालन र वैदेशिक यात्राको प्रयासमा रहेकाहरूका लागि वर्षको उत्तरार्ध शुभ रहनेछ। विद्यार्थीहरूले लक्ष्य हासिल गर्न कडा परिश्रम गर्नुपर्नेछ। सौरमास अनुसार असार, असोज, माघ र फागुन महिना आर्थिक लाभका दृष्टिले उत्तम रहनेछन् भने वैशाख, साउन, मंसिर र चैत महिनामा स्वास्थ्य र आर्थिक पक्षमा सावधानी अपनाउनु उचित हुनेछ।
प्रतिकूल समयको प्रभाव कम गर्न इष्टदेवताको पूजा–आराधना गर्नु लाभदायी हुनेछ। मंगल र बृहस्पतिको शुभफल प्राप्त गर्न क्रमशः श्रीगणेश र बगलामुखी भगवतीको उपासना गर्नुहोला। त्यसैगरी, शनिको साढेसाती दोष निवारणका लागि प्रत्येक शनिवार पीपलमा जल चढाउने तथा काली भगवती र हनुमानजीको आराधना गर्नाले मन शान्त रहनुका साथै सम्भावित संकटहरू टर्नेछन्।
